रिङ्कु सदायको बलात्कार र शङ्कास्पद मृत्यु घटनाका मुख्य आरोपित पक्राउ

२०८१ फागुन २१ गते बुधवार
सारांश
  • दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द पासवानले जानकारी दिए ।

सिरहा, २१ फागुनः यहाँको नवराजपुर गाउँपालिका– १ की १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदायको सामूहिक बलात्कार र शङ्कास्पद मृत्यु घटनाका मुख्य आरोपित रूपेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

 

घटना लगत्तै फरार भएका मण्डललाई सिरहा नगरपालिका–१७ स्थित दशगजा क्षेत्रबाट आज दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द पासवानले जानकारी दिए ।

 

उहाँका अनुसार आरोपित मण्डललाई आजै जिल्ला अदालतबाट दुई दिनको म्याद थप गराई थप अनुसन्धान सुरू गरिएको छ । यस सम्बन्धमा बिहीबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने उनले बताए ।

 

गत माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिङ्कुको स्थानीय रूपेशसहित तीन युवकले अपहरण गरी सामूहिक बलात्कार गरेको आरोप छ । सो घटनालाई आर्थिक लेनदेनमा गाउँमै मिलाउन माघ २९ र ३० गते दुई पटक छलफल गरी पीडित परिवारलाई प्रहरीमा जान नदिएको सार्वजनिक भएको थियो ।

 

पहिलो दिनको छलफलले रूपेशलाई रु एक लाख ५० हजार जरिवाना गर्ने निर्णय सुनाएको थियो । भोलिपल्ट अर्को छलफलका क्रममा उपस्थितबीच नै कुटाकुट भएको थियो । सोही साँझ रिङ्कु आफ्नो घरको कोठामा शङ्कास्पद अवस्थामा झुन्डिएर मृत भेटिएकी थिइन् ।

 

पहुँचका आधारमा घटना दबाउन खोजिएको भन्दै पीडकलाई पक्राउ गरी निष्पक्ष छानबिन गर्नुपर्ने माग राखी प्रतिनिधिसभा तथा राष्ट्रियसभामा समेत आवाज उठेको थियो । इलाका प्रहरी कार्यालय लहानले सुरूमा आत्महत्या दुरूत्साहन मुद्दामा जाहेरी दर्ता गरेको थियो । घटनाको एक सातापछि फागुन ८ गते मृतक रिङ्कुकी आमा सीतादेवी सदायले रूपेशसहित मुख्य आरोपी तीनजना र छलफलमा सहभागी पाँचजना गरी आठजनाविरूद्ध कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र कसुरमा पुरक जाहेरी दिएका थिए ।

 

पूरक जाहेरीको आधारमा प्रहरीले फागुन ११ गते सोधपुछ तथा अनुसन्धानका लागि नियन्त्रणमा लिएकामध्ये नवराजपुर—१ भगवतीपुरका ८४ वर्षीय चन्देश्वर मण्डल, ४५ वर्षीय रामविनोद मण्डल र कमलेशकुमार दासलाई पञ्चायतीद्वारा लेनदेन गरी मिलापत्र गराउन संलग्न रहेको कसुरमा मुद्दा चलाएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार