वेलायती राजकुमार पोखरामा, गोर्खा सैनिकमा भर्ती भएकाहरुसँग भेटघाट

२०८१ माघ २५ शुक्रबार
सारांश
  • बेलायती सेनामा औपचारिक रुपमा सामेल भएका २७४ नेपाली युवाहरुको वार्षिक प्रमाणीकरणमा सहभागि भएका उनीहरुले गोर्खा सैनिकमा नेपालीहरुको सक्रियताको प्रसंशा गरेका थिए । त्यसक्रममा बेलायती सेनामा नयाँ भर्ना भएका केही युवाका परिवारका सदस्यहरूसँग भेटघाट पनि गरेका थिए ।


पोखरा : नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्ड र राजकुमारी डचेस सोफी पोखरामा छन् । उनीहरुले गोर्खा सेनामार्फत बेलायत–नेपाल मित्रताको गहिरो सम्बन्ध रहेकोबारे चर्चा समेत गरे ।


बेलायती सेनामा औपचारिक रुपमा सामेल भएका २७४ नेपाली युवाहरुको वार्षिक प्रमाणीकरणमा सहभागि भएका उनीहरुले गोर्खा सैनिकमा नेपालीहरुको सक्रियताको प्रसंशा गरेका थिए । त्यसक्रममा बेलायती सेनामा नयाँ भर्ना भएका केही युवाका परिवारका सदस्यहरूसँग भेटघाट पनि गरेका थिए । 


अत्यधिक प्रतिस्पर्धात्मक भर्ती प्रक्रिया पछि २७४ जना प्रशिक्षार्थी राइफलम्यानहरू बेलायती सेनामा सामेल हुनेछन् । गोर्खा सेनाको ब्रिगेड ब्यान्डको नेतृत्वमा परेडको मार्च–आउटमा नेपालभरबाट आएका नयाँ भर्ती भएकाहरुका परिवारका सदस्यहरू उपस्थित थिए ।


राजकुमारले भने, ‘अब तपाईं गोर्खा सैनिक बन्नुभएको छ । यस वर्ष भर्ती हुन सम्भावना बोकेका १३,००० भन्दा बढीमध्ये केवल २७४ नयाँ गोर्खा मध्ये एक हुनुहुन्छ । यो तपाईंको जीवनको सबैभन्दा ठूलो चुनौतीहरू मध्ये एक रहेको छ । आफ्नो उपलब्धिमा धेरै गर्व महसुस गर्न सक्ने अवस्थामा हुनुहुन्छ ।’


उनीहरू बेलायतको क्याटरिकमा रहेको सैन्य प्रशिक्षण केन्द्र (आइटीसी) पुग्नेछन्, जहाँ उनीहरूले नौ महिना लामो प्रशिक्षणमा सहभागी हुनेछन् ।


समारोहमा उपस्थित अन्य व्यक्तित्वहरु नेपालका लागि बेलायती राजदूत रोब फेन; गोर्खा ब्रिगेडका कर्नल कमान्डेन्ट मेजर जनरल स्ट्रिकल्याण्ड डिएसओ एमबीइ; गोर्खा ब्रिगेडका डेपुटी कर्नल कमान्डेन्ट मेजर जनरल द लर्ड ल्यान्कास्टर टिडी पीसी; ब्रिटिश गोर्खा नेपाल (बिजीएन) का कमाण्डर कर्नल ड्यान रेक्स एमभिओ; र बिजीएनका डेपुटी कमाण्डर लेफ्टिनेन्ट कर्नल राजेशकुमार गुरुङले भर्ती भएका नयाँ सैनिकहरूको प्रमाणीकरणको अवलोकन गरे ।

परेडमा गोर्खा र ब्रिटिश कर्मचारीहरूलाई ३८ वटा राज्याभिषेक पदक र दुई वटा दीर्घ सेवा तथा असल आचरण पदकहरू पनि प्रदान गरिएको थियो । राजकुमार र राजकुमारीले १०४ वर्षीया आशा कुमारी तामाङलाई पनि भेटेका छन् । जसका स्वर्गीय श्रीमान्ले दोस्रो विश्वयुद्धमा चौथो गोर्खा राइफल्समा आवद्ध भई सेवा गरेका थिए । 


राजकुमार दम्पत्तीलाई पोखराका मेयर धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले स्वागत गरेका थिए । उनीहरु बिहीबार र शुक्रबार कास्कीमा रहने छन् ।

 

पृष्ठभूमि
गोर्खा वेल्फेयर ट्रस्ट भूपू गोर्खा सैनिक, उनीहरूका परिवार र समुदायलाई सहयोग गर्न समर्पित अग्रणी परोपकारी संस्था हो । यसको स्थापना सन् १९६९ मा कल्याणकारी पेन्सनधारीहरु (एमओडी पेन्सनका लागि योग्य हुनु अगावै बेलायती सेना छोडेका)लाई आर्थिक सहायता प्रदान गर्न भएको थियो । आज ट्रस्टले भूपू गोर्खा सैनिक र उनीहरूका परिवारहरूलाई नेपालमा (र भारत जहाँ केही गोर्खा लाभग्राहीहरूले आर्थिक र स्वास्थ्य सहयोग प्राप्त गरिरहेका छन्) सम्मानित जीवन बाँच्न सकून् भन्ने कुरा सुनिश्चित गर्न आर्थिक, स्वास्थ्य र विकासजन्य सहायता प्रदान गर्दछ । नेपालस्थित ५१५ जनाको प्रभावकारी टोलीमार्फत ट्रस्तले नेपालभरि उल्लेखनीय प्रभाव पारेको छ, प्रत्येक वर्ष लगभग २ करोड ४० लाख पाउण्ड विभिन्न कार्यमा खर्च गर्दै आएको छ जस्तै ः हजारौं गरिब भूपू गोर्खा सैनिक र विधवाहरूलाई कल्याणकारी पेन्सन र अनुदान, जसले उनीहरू सम्मानका साथ बाँच्न सकून् भन्ने कुरा सुनिश्चित गरेको छ; भूकम्पपछि राहत र उत्थानशील आवास (ट्रस्टले भूपू गोर्खा सैनिक र उनीहरूका विधवाहरूका लागि तत्काल राहत सहयोग उपलब्ध गराउनुका साथै १,७५० भन्दा बढी भूकम्प–प्रतिरोधी घरहरू निर्माण गरिसकेको छ ); स्वास्थ्य उपचार सेवाः भूपू गोर्खा सैनिक र उनीहरूका परिवारहरूलाई उच्चस्तरको स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । गत वर्ष २१ हजार २०० भन्दा बढी बिरामीहरूले चिकित्सा सेवा प्राप्त गरे; स्वच्छ खानेपानी र सरसफाइ (गत वर्ष मात्र १,५९० धाराहरू जडान गरी दुर्गम समुदायहरूमा स्वच्छ खानेपानी पु¥याउने काममार्फत ८ हजार ८०० भन्दा बढी व्यक्तिहरू लाभान्वित भएको); र शिक्षाः ट्रस्टको विद्यालय कार्यक्रमले दुर्गम क्षेत्रहरूमा विद्यालयहरू निर्माण र मर्मतसम्भार गर्दछ जसले नेपाली बालबालिकाहरूको शिक्षामा पहुँच सुधार हुनपुगेको छ ।


ब्रिगेडियर ’बनी’ बर्नेटले सर होरेस कदुरीलाई नेपालमा रहेका भूपू सैनिकहरूलाई ब्रिगेड अफ गोर्खाजले कसरी राम्रो सहयोग पु¥याउन सक्छ भन्ने बारेमा चासो व्यक्त गर्दा कदुरी कृषि सहायता संघ सन् १९६८ बाट सुरु भएको हो । योजना सुरु भएदेखि कदुरी परिवारले नेपालका पहाडी समुदायहरूको सहयोगार्थ  १२ करोड ५० लाख पाउण्ड उपलब्ध गराइसकेको छ । संघले हाल कृषिमा भन्दा पनि पूर्वाधार इन्जिनियरिङ र तालिमको क्षेत्रमा धेरै काम गर्छ ; तर सारमा यो “आफूलाई मद्दत गर्नेहरूलाई मद्दत गर्ने” र “वञ्चितीकरणमा परेकाहरुको जीवनमा अवसर निम्त्याउने“ बारे हो । संघलाई पूर्णतः कदुरी चैरिटेबल फाउन्डेसनले आर्थिक सहायता प्रदान गर्दै आएको छ; ःएमओडीको अनुरोधमा र उनीहरूको सहयोगमा यो गोर्खा कल्याण ट्रस्टसँगै कार्यान्वयन साझेदारको रूपमा काम गर्दछ । सामान्यतया प्रतिवर्ष लगभग ७ करोड ५ लाख पाउण्ड बराबरका क्रियाकलापहरुमा पूर्वाधार, रोजगारी तालिम, विशेष परियोजनाहरू, र केही स्वविवेकी योजनाहरू समावेश हुनेगर्छन् । पछिल्लो समय यसले २०७२ साल को भूकम्पमा नष्ट हुन पुगेकालाई प्रतिस्थापन गर्न ८०० वटा घरहरू निर्माण गर्नुका साथै नेपालको कोभिड प्रतिक्रियामा उदारतापूर्वक योगदान दिएको छ ।


७ फेब्रुअरीमा ब्रिटिश गोर्खाज पोखरा (बीपीपी) मा हुने भर्ती इन्टेक २५ (आरआइ२५) प्रमाणीकरण परेड ब्रिटिश गोर्खाज नेपाल (बिजिएन) द्वारा सञ्चालित तीन चरणको छनोट प्रक्रियाको अन्तिम क्रियाकलाप हो । परेडमा गोर्खाजको ब्रिगेडमा सामेल हुने २७४ जना प्रशिक्षार्थी राइफलम्यान सहभागी हुनेछन् । त्यसका लागि गत मार्च महिनाभरि १३ हजार भन्दा बढी सम्भावित व्यक्तिहरुले गोर्खा सैनिक बन्न आवेदन दिएका थिए । स्वतन्त्र, निष्पक्ष र पारदर्शी भन्ने गोर्खा भर्तीको मन्त्रको परिपालना भएको सुनिश्चित गर्न सम्पूर्ण प्रक्रियालाई स्वतन्त्र रूपमा आश्वस्त पार्ने काम गरिन्छ ।

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार