नवरात्रको दोस्रो दिन ब्रम्हचारिणी भगवतीको पूजा गरिँदै

२०८१ असोज १८ गते, शुक्रबार
सारांश
  • भगवती ब्रह्मचारिणीले १ हजार वर्षसम्म केवल फल खाएर तप गरेको शास्त्रहरूमा प्रमाण पाईन्छ भने सय वर्षसम्म केवल साग (शाक) निर्भर रहनुभयो । उपवास गर्दा खुला आकाशमुनि वर्षा र घामको कष्ट सहनुभयो ।

काठमाडौं- आज नवारात्रको दोस्रो दिन देवी ब्रम्हचारिणी भगवतीको पूजा आराधना गर्दै मनाइँदैछ। आज देवी दुर्गाका विभिन्न स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा गरिन्छ। घटस्थापना गरेसँगै ९ दिनसम्म नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ। आजको दिन देवी ब्रम्हचारिणीको स्वरुपको पुजा, ध्यान साधना गर्ने गरिन्छ।  

 

'ब्रह्म' शब्दको अर्थ तपस्या हो। ब्रह्मचारिणी भनेको तपको आचरण गर्ने देवीका रुपमा मानिन्छ। ब्रह्मचारिणी देवीको स्वरूप पूर्ण ज्योतिर्मय र अत्यन्त भव्य मानिन्छ। उहाँको दाहिने हातमा जपमाला र बायाँ हातमा कमण्डलु हुन्छ। 

 

पूर्वजन्ममा हिमालयको घरमा पुत्री रूपमा प्रकट हुँदा, नारदजीको उपदेश अनुसार उहाँले भगवान शिवलाई पति स्वरुप प्राप्त गर्नका लागि कठोर तपस्या गरेको विश्वास गरिन्छ । कठोर तपस्या गरेका कारण कारण उहाँलाई 'ब्रह्मचारिणी' भनिएको हो।

 

भगवती ब्रह्मचारिणीले १ हजार वर्षसम्म केवल फल खाएर तप गरेको शास्त्रहरूमा प्रमाण पाईन्छ भने सय वर्षसम्म केवल साग (शाक) निर्भर रहनुभयो । उपवास गर्दा खुला आकाशमुनि वर्षा र घामको कष्ट सहनुभयो । यसपछि उहाँले तीन हजार वर्षसम्म धरतीमा झरेका बेलपत्र मात्र खाएर भगवान पशुपतिनाथ शिवको आराधना गर्नुभयो। 

 

धेरै वर्षसम्म निर्जल र निराहार व्रत गर्दै तपस्या गर्नुभयो। पातहरूको आहार समेत छोडिदिनुभएको उहाँ 'अपर्णा' नामले चिनिनुभयो ।

 

यस कठिन तपस्याका कारण उहाँको शरीर अत्यन्त क्षीण भयो। यो देखेर उहाँकी आमा मैनादेवी दुःखी हुनुभयो र तपस्या रोक्न आग्रह गर्दै 'उमा' भनेर बोलाउनुभयो। यहीँ बाट उहाँ 'उमा' भनेर पनि चिनिनुभयो। उहाँको तपस्याले तीनै लोकमा हाहाकार मच्चियो, देवता, ऋषि, सिद्ध र मुनिहरूले उहाँको तपलाई अभूतपूर्व पुण्यकर्म भन्दै प्रशंसा गरे। 

 

अन्ततः पितामह ब्रह्माजीले आकाशवाणी गरेर प्रसन्न हुँदै भन्नुभयो, "हे देवी, यस्तो कठोर तपस्या अहिलेसम्म कसैको देखिएको थिएन। तिम्रो मनोकामना पूर्ण हुनेछ, भगवान शिव तिमीलाई पतिको रूपमा प्राप्त हुनेछन । अब तपस्या रोकेर घर फर्क।" 

 

देवी दुर्गाको यो दोस्रो स्वरूपले भक्तहरूलाई अनन्त फल प्रदान हुने विश्वास गरिन्छ । यस दिनमा देवी ब्रह्मचारिणीको उपासना गरेर तप, त्याग, वैराग्य, सदाचार र संयमको वृद्धि हुन्छ। सर्वत्र सिद्धि र विजय प्राप्त हुने विश्वास गरिन्छ । नवरात्रको दोस्रो दिनमा ब्रह्मचारिणीको पूजन गरिन्छ। 

 

यस दिन साधकको मन स्वाधिष्ठान चक्रमा केन्द्रित हुन्छ। यस चक्रमा अवस्थित योगी, देवीको कृपा र भक्ति प्राप्त गर्छ। जीवनका कठिन संघर्षहरूमा पनि कर्तव्य-पथबाट विचलित हुँदैन। ब्रह्मचारिणी देवीको कृपा प्राप्त भएसँगै सर्वत्र सिद्धि र विजय प्राप्त हुन्छ।

 

देवी ब्रम्हचारिणीको निम्न मन्त्रसहित ध्यान गरिन्छ
वन्दे वांछित लाभाय चन्द्रार्घकृत शेखराम्।
जपमाला कमण्डलु धरा ब्रह्मचारिणी शुभाम्॥
गौरवर्णा स्वाधिष्ठानस्थिता द्वितीय दुर्गा त्रिनेत्राम।
धवल परिधाना ब्रह्मरूपा पुष्पालंकार भूषिताम्॥
परम वंदना पल्लवराधरां कांत कपोला पीन।
पयोधराम् कमनीया लावणयं स्मेरमुखी निम्ननाभि नितम्बनीम्॥

 

देवीको निम्न स्तोत्र पाठ गर्न सकिन्छ।  
तपश्चारिणी त्वंहि तापत्रय निवारणीम्।
ब्रह्मरूपधरा ब्रह्मचारिणी प्रणमाम्यहम्॥
शंकरप्रिया त्वंहि भुक्ति-मुक्ति दायिनी।
शान्तिदा ज्ञानदा ब्रह्मचारिणी प्रणमाम्यहम्॥

 

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौ‍ँ दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ।

 

नवारात्रको दोस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ। राजधानीभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भऽकाली र इन्द्रयणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीहरू बढेका हुन्।

 

उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा, पोखराको विन्ध्यावासिनीसहितका मन्दिरमा पनि भक्तालुहरूको घुई‍ँचो लागेको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार