नेपालमा स्मार्टफोन आयातमा चीनको वर्चस्व बढ्दै, भारतबाट आयात घट्दो
२०८२ फाल्गुण १४ विहीवार
- पछिल्ला केही वर्षयता भारतमा समेत ठूलो परिमाणमा स्मार्टफोन उत्पादन हुँदै आए पनि नेपालमा भने चीनबाट हुने आयातको हिस्सा उल्लेखनीय रूपमा बढेको देखिएको छ ।
काठमाण्डौ, १४ फाल्गुण । पछिल्ला केही वर्षयता भारतमा समेत ठूलो परिमाणमा स्मार्टफोन उत्पादन हुँदै आए पनि नेपालमा भने चीनबाट हुने आयातको हिस्सा उल्लेखनीय रूपमा बढेको देखिएको छ । भन्सार विभागको चालू आर्थिक वर्षको पहिलो सात महिनाको तथ्यांकले चीनबाट आयात भएका स्मार्टफोनको हिस्सा अझै बढेको पुष्टि गरेको छ । विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो सात महिनामा चीनबाट मात्रै १२ लाख ४ हजार ५७७ ओटा स्मार्टफोन आयात भएका छन् ।
यो संख्या उक्त अवधिमा आयात भएका कुल स्मार्टफोनको ८५.१३ प्रतिशत हो । गत आर्थिक वर्षको सोही अवधिमा चीनबाट ९ लाख ५३ हजार २१६ थान स्मार्टफोन आयात भएका थिए, जुन कुल आयातको ७७.५० प्रतिशत थियो ।
गत आर्थिक वर्षको पहिलो सात महिनामा कुल १२ लाख २९ हजार ९५७ ओटा स्मार्टफोन आयात भएका थिए । तर चालू आर्थिक वर्षको सोही अवधिमा कुल आयात १४ लाख १४ हजारभन्दा बढी पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा झन्डै २ लाखले बढी हो । चिनियाँ ब्रान्डहरू जस्तै साओमी, भिभो, ओप्पो, अनर र रियलमिका साथै अमेरिकी एप्पल तथा दक्षिण कोरियाली ब्रान्ड सामसुङका केही मोडेलहरू भारतमै एसेम्बल हुने भए पनि भारतबाट नेपालमा हुने आयात घट्दो क्रममा रहेको देखिन्छ । गत आर्थिक वर्षको पहिलो सात महिनामा भारतबाट २ लाख ७२ हजार ६६ ओटा स्मार्टफोन आयात भएका थिए । तर चालू आर्थिक वर्षको सोही अवधिमा भारतबाट २ लाख ४ हजार ६५८ ओटा मात्रै स्मार्टफोन भित्रिएका छन्, जुन कुल आयातको १४.४६ प्रतिशत मात्र हो ।
विगतमा भियतनामबाट पनि नेपालमा ठूलो परिमाणमा स्मार्टफोन आयात हुने गरेको थियो । यता भारत सरकारले चालू आर्थिक वर्ष २०२६/२७ को बजेटमार्फत इलेक्ट्रोनिक उद्योग प्रवद्र्धनका लागि सरकारी बजेट वृद्धि गरेको भए पनि त्यसको प्रभाव नेपाली बजारमा भने हालसम्म स्पष्ट देखिएको छैन । यसरी समग्रमा स्मार्टफोनको कुल आयात बढिरहेको अवस्थामा चीनको बजार हिस्सा झन् सुदृढ बन्दै गएको छ भने भारतबाट हुने आयातको अनुपात घट्दै गएको तथ्यांकले देखाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’