वाणिज्य बैंकहरूको नाफा ११.५१ प्रतिशतले बढ्यो: नबिल बैंक शीर्ष स्थानमा, लक्ष्मी सनराइज घाटामा

२०८२ माघ १५ बिहीवार
सारांश
  • चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नबिल बैंक ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ नाफा कमाउँदै पहिलो स्थानमा कायम रहेको छ।

काठमाडौं: अर्थतन्त्रमा विद्यमान चुनौतीका बाबजुद चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्त) सम्ममा वाणिज्य बैंकहरूको समग्र खुद नाफामा ११.५१ प्रतिशतको वृद्धि देखिएको छ। सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समग्र नाफा ३० अर्ब ५९ करोड ४० लाख रुपैयाँ पुगेको छ।

 

गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूले २७ अर्ब ४३ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। २० मध्ये ११ बैंकको नाफा बढ्दा ९ वटा बैंकको नाफामा भने गिरावट आएको छ।

 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नबिल बैंक ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ नाफा कमाउँदै पहिलो स्थानमा कायम रहेको छ। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ४६.७१ प्रतिशतले बढेको हो। त्रिशूली जलविद्युत आयोजनाको काउन्टर ग्यारेन्टी वापतको मुद्दा चिनियाँ अदालतबाट जितेर करिब १ अर्ब रुपैयाँ फिर्ता आएसँगै नबिलको नाफामा उल्लेख्य सुधार देखिएको हो।

 

यता, लक्ष्मी सनराइज बैंकले भने २७ करोड ३६ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको छ। बैंकको निष्क्रिय कर्जा बढेर ५.५० प्रतिशत पुग्दा ४ अर्ब ४७ करोड ३१ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) मा छुट्टाउनुपरेपछि बैंक घाटामा गएको हो।

 

निष्क्रिय कर्जा बढ्दा बैंकहरूको कर्जा नोक्सानी व्यवस्थामा भार थपिएको छ। बैंकहरूले यो अवधिमा २८ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ प्रोभिजनिङका लागि छुट्याएका छन्, जुन गत वर्षको तुलनामा १६.५४ प्रतिशतले बढी हो।

 

खराब कर्जा बढी भएका बैंकहरू:
हिमालयन बैंक: ७.९६ प्रतिशत (सबैभन्दा धेरै)
प्रभु बैंक: ७.९४ प्रतिशत
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक: ७.९० प्रतिशत
एनआईसी एशिया बैंक: ७.४७ प्रतिशत

 

राष्ट्र बैंकले खराब कर्जाको सीमा ८ प्रतिशतसम्म कायम गरे पनि केही बैंकहरू यो सीमाको निकै नजिक पुगेका छन्। यद्यपि, नेपाल एसबिआई, सिद्धार्थ, नबिल र राष्ट्रिय वाणिज्य बैंक लगायतले भने आफ्नो निष्क्रिय कर्जामा सुधार गरेका छन्।

कुमारी बैंकले आफ्नो नाफामा चामत्कारिक सुधार गर्दै ८८६.६२ प्रतिशतको वृद्धि हासिल गरी २ अर्ब ७२ करोड रुपैयाँ पुर्‍याएको छ। राष्ट्रिय वाणिज्य बैंक (१३२%), सिद्धार्थ बैंक (१५०%) र नेपाल बैंक (१८३%) को नाफामा पनि उल्लेख्य सुधार आएको छ।

 

तर, एनआईसी एशिया बैंकको नाफा १३.५१ प्रतिशतले घटेर १३ करोड १२ लाखमा खुम्चिएको छ। त्यस्तै, सिटिजन्स बैंक (४५.७७% गिरावट), कृषि विकास बैंक (२६.१२% गिरावट) र प्रभु बैंक (२४.०७% गिरावट) को नाफामा संकुचन देखिएको छ।

 

बैंकहरूको खुद ब्याज आम्दानी र फि तथा कमिसन आम्दानी बढ्दा समग्र नाफामा टेवा पुगेको देखिए पनि सम्पत्तिको गुणस्तरमा भने ह्रास आइरहेको छ। गत भदौमा भएको 'जेन जी' आन्दोलन र शिथिल अर्थतन्त्रका कारण कर्जा असुलीमा कठिनाइ हुँदा बैंकहरूमाथि दबाब बढेको हो। असार मसान्तको तुलनामा पुस मसान्तमा धेरैजसो बैंकहरूको निष्क्रिय कर्जा बढ्नुले आगामी दिनमा अझै चुनौती रहने संकेत गरेको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार