सिन्धुली एसबीआई बैंक लुटपाट: मुख्य योजनाकार घरबेटीसहित ७ जना पक्राउ

२०८२ माघ ०२ शुक्रवार
सारांश
  • पटक–पटकका असफल प्रयासपछि पुस २९ गते यो समूह लुटपाट गर्न सफल भएको थियो ।

सिन्धुली: सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ स्थित नेपाल एसबीआई बैंकमा भएको करोडौँको लुटपाट महिनौँ लामो योजनापछि गरिएको खुलेको छ । 

 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीका अनुसार यस लुटपाटको षड्यन्त्र २०८२ असोजदेखि नै बुनिएको थियो । पटक–पटकका असफल प्रयासपछि पुस २९ गते यो समूह लुटपाट गर्न सफल भएको थियो ।

 

यसरी भयो लुटपाट
पुस २९ गते साँझ ७:३० बजे ५ जनाको समूह बैंकभित्र प्रवेश गरी सुरक्षा गार्ड र कर्मचारीलाई खुकुरी देखाई नियन्त्रणमा लिएका थिए । कर्मचारीहरूलाई हात–खुट्टा बाँधेर बन्धक बनाएपछि लुटेराले प्लास्टिकको नक्कली पेस्तोल देखाई बैंकको मुख्य भल्टबाट ३ करोड ७ लाख रुपैयाँ बोरामा भरेर फरार भएका थिए । यसअघि पुस २३ र २८ गते पनि लुटपाटको प्रयास भए पनि उनीहरू सफल हुन सकेका थिएनन् ।

 

प्रहरीको अपरेसन र रकम बरामद
सूचना पाएलगत्तै एसपी सुवेदीको नेतृत्वमा ५० जनाको टोली परिचालन भएको थियो । प्रहरीले घटनास्थल नजिकैबाट टाटा सुमो चालक भगवत सिंह थापालाई नियन्त्रणमा लिएपछि अनुसन्धानले गति लिएको थियो । रातभरको सर्च अपरेसनका क्रममा जंगलमा लुकाइएको १ करोड ८ लाख रुपैयाँ सोही राति फेला पर्यो । भोलिपल्ट स्थानीयको सहयोगमा थप ४ जना पक्राउ परे र उनीहरूको बयानका आधारमा थप रकम बरामद भयो । हालसम्म कुल २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ बरामद भइसकेको प्रहरीले जनाएको छ ।

 

घरधनी नै मुख्य योजनाकार
प्रहरीको प्राविधिक विश्लेषण र बयानका आधारमा बैंक रहेको घरका धनी छविलाल स्याङ्तान नै घटनाको मुख्य योजनाकार रहेको खुलेको छ । उनले नै समूहलाई हतियार, सूचना र निर्देशन उपलब्ध गराएका थिए । प्रहरीले स्याङ्तान र उनका जेठान चतुरमान बज्युसहित ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

 

पक्राउ परेका अभियुक्तहरू
पक्राउ पर्नेमा चालक भगवत सिंह थापा, चतुरमान बज्यु, सशांक श्रेष्ठ, निरन गिरी, विवेक थापा, घरधनी छविलाल स्याङ्तान र एक किशोर रहेका छन् । उनीहरूको साथबाट खुकुरी, नक्कली पेस्तोल, नकाब र मोबाइलहरू बरामद गरिएको छ । अदालतबाट ५ दिनको म्याद थप गरी घटनाबारे थप सूक्ष्म अनुसन्धान भइरहेको एसपी सुवेदीले जानकारी दिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार