चालु खाता चार खर्ब नौ अर्ब र शोधनान्तर पाँच खर्ब ९४ अर्ब बचतमा

२०८२ भाद्र ०८ आइतवार
सारांश
  • प्रतिवेदनअनुसार गत आवमा सरकारको चालु खाता रु चार खर्ब नौ अर्ब २० करोडले बचतमा रहेको छ । आव २०८०/८१ मा चालु खाता रु दुई खर्ब २१ अर्ब ७१ करोडले बचतमा थियो ।

काठमाडौँ, ८ भदौः गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक तथा वित्तीय सूचकहरूमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अर्थतन्त्रका आन्तरिक र बाह्य दुवै सूचकमा सुधार हुँदै गएको देखिएको हो ।

 

प्रतिवेदनअनुसार गत आवमा सरकारको चालु खाता रु चार खर्ब नौ अर्ब २० करोडले बचतमा रहेको छ । आव २०८०/८१ मा चालु खाता रु दुई खर्ब २१ अर्ब ७१ करोडले बचतमा थियो ।

 

गत आवमा शोधनान्तर स्थिति रु पाँच खर्ब ९४ अर्ब ५४ करोडले बचतमा छ । आव २०८०/८१ मा शोधनान्तर स्थिति रु पाँच खर्ब दुई अर्ब अर्ब ४९ करोडले बचतमा थियो । गत आवमा खुद पुँजीगत ट्रान्सफर रु नौ अर्ब ८४ करोड छ भने प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु १२ अर्ब दुई करोड बराबर भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

 

गत आवमा आर्थिक वृद्धि चार दशमलव ६१ प्रतिशत रहेको अनुमान छ । जसमध्ये कृषि क्षेत्रको वृद्धि तीन दशमलव २८, उद्योग क्षेत्रको चार दशमलव ५३ र सेवा क्षेत्रको वृद्धि चार दशमलव २१ प्रतिशत रहेको अनुमान छ । गत आवको कूल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २५ दशमलव १६, १२ दशमलव ८३ र ६२ दशमलव शून्य एक प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

त्यस्तै, गत आवमा कूल गार्हस्थ्य बचत कूल गार्हस्थ्य उत्पादनको छ दशमलव ५५ प्रतिशत रहेको छ । कूल स्थिर पुँजी निर्माण र कूल राष्ट्रिय बचतको कूल गार्हस्थ्य उत्पादनसँगको अनुपात क्रमशः २४ दशमलव शून्य सात र ३६ दशमलव २४ प्रतिशत रहेको छ ।

 

गत आवमा कूल विद्युत्को जडित क्षमता वृद्घि भई तीन हजार ५९१ मेगावाट पुगेको छ । जडित क्षमतामध्ये जलविद्युत् तीन हजार ३९० मेगावाट रहेको छ । त्यस्तै, कूल पर्यटक आगमन एक दशमलव सात प्रतिशतले वृद्धि भई ११ लाख ४७ हजार ८३४ जना पुगेको छ ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ दुई दशमलव ६६ प्रतिशतले अवमूल्यन भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार