आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा समेटिएका मुख्य विषयहरू

२०८२ असार २७ शुक्रवार
सारांश
  • ब्याजदर करिडोरको माथिल्लो सीमाका रुपमा रहेको बैंकदरलाई ६ प्रतिशत र नीतिगत दरलाई साढे चार प्रतिशत कायम गरेको छ। यसअघि बैंकदर साढे ६ प्रतिशत र नीतिगत दर पाँच प्रतिशत थियो।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासको लागि मूल्य र शोधनान्तर स्थिरता कायम गर्ने मूलभूत उद्देश्यका साथ राष्ट्र बैंकले आर्थिक वर्ष २०५९/६० देखि मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । यस श्रृङ्खलामा आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति चौबिसौं रहेको छ । 

 

प्रस्तुत छ, नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले जारी गरेको यस वर्षको मौद्रिक नीतिमा समावेश भएका मुलभुत विषय तथा मुख्य नीतिहरू:

 

मुद्रास्फीति:
आर्थिक वर्ष २०८१/८२ को एघार महिनासम्ममा औसत उपभोक्ता मुद्रास्फीति ४.२४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०÷८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको थियो । २०८२ जेठमा खाद्य समूहको मुद्रास्फीति ०.५४ प्रतिशत र गैरखाद्य तथा सेवाक्षेत्रको मुद्रास्फीति ३.९४ प्रतिशत रही वार्षिक विन्दुगत मुद्रास्फीति २.७२ प्रतिशत रहेको छ । यस अवधिमा आन्तरिक कृषि उत्पादन बढेको, भारतमा थोक तथा उपभोक्ता मुद्रास्फीति घटेको, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा सुधार आएको र आन्तरिक ढुवानीसमेत सहज रहेकोले मुद्रास्फीतिमा उल्लेख्य सुधार आएको हो ।

 

पछिल्ला महिनाहरूमा मुद्रास्फीति चाप न्यून हुँदै गएको, मनसुन समयमै भित्रिएकोले खाद्यान्न उत्पादन सकारात्मक हुने देखिएको र नेपालको मुद्रास्फीतिमा प्रत्यक्ष प्रभाव हुने भारतको मुद्रास्फीति क्रमशः कम हुँदै आगामी वर्ष ३.७ प्रतिशत रहने प्रक्षेपण रहेको सन्दर्भमा आर्थिक वर्ष २०८२/८३ मा मुद्रास्फीति ५.० प्रतिशतको हाराहारीमा रहने प्रक्षेपण रहेको छ ।

 

आयात तथा निर्यातको स्थिति: 
पछिल्लो समयमा वैदेशिक व्यापारले गति लिन थालेसँगै आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा कुल वस्तु निर्यात ७७.८ प्रतिशतले वृद्धि भई रु.२४७ अर्ब ५७ करोड पुगेको छ भने कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई १६ खर्ब ४४ अर्ब ८० करोड पुगेको छ । यस अवधिमा व्यापार घाटा ६.३ प्रतिशतले वृद्धि भई रु.१३ खर्ब ९७ अर्ब २३ करोड पुगेको छ । निर्यातको वृद्धिदर उच्च भए पनि आधार सानो भएको र आयात लयमा फर्कन थालेकाले आगामी वर्ष व्यापार घाटा केही फराकिलो हुने अनुमान छ ।

 

विदेशी विनिमय संचितिको स्थिति: 
आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा कुल विदेशी विनिमय सञ्चिति २५.९ प्रतिशतले वृद्धि भई २०८२ जेठ मसान्तमा रु.२५ खर्ब ६९ अर्ब ३८ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २२.२ प्रतिशतले वृद्धि भई १८ अर्ब ६५ करोड पुगेको छ । यस अवधिमा कायम रहेको विदेशी विनिमय सञ्चिति करिव १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ । आगामी आर्थिक वर्षमा समेत चालु खाता र शोधनान्तर स्थिति अनुकूल भई पर्याप्त विदेशी विनिमय सञ्चिति कायम रहने अनुमान छ ।

 

विप्रेषण आप्रवाह:
आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १५.५ प्रतिशत र अमेरिकी डलरमा १२.७ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या (नयाँ तथा नवीकरणसहित) अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.४ प्रतिशतले वृद्धि भई ७,६०,३९१ पुगेको छ । आर्थिक वर्ष २०८२/८३ मा बाह्य परिस्थिति अनुकूल रहेमा विप्रेषण आप्रवाहको वृद्धिदर सन्तोषजनक रहने अनुमान छ ।

 

शोधनान्तर स्थिति:
आर्थिक वर्ष २०८१÷८२ को एघार महिनामा शोधनान्तर स्थिति रु.४९१ अर्ब ४४ करोडले र चालु खाता रु.३०७ अर्ब ३१ करोडले बचतमा रहेको छ । आयातको तुलनामा विप्रेषण आप्रवाह वृद्धि उच्च रहेकोले शोधनान्तर स्थिति र चालु खातामा उल्लेख्य बचत कायम हुन सकेको छ । आर्थिक वर्ष २०८२÷८३ मा समेत चालु खाता र शोधनान्तर स्थिति बचतमा रहने अनुमान छ ।

 

यस वर्ष उल्लेखित नयाँ नीतिहरू: 
१, मौद्रिक नीति मार्फत व्यक्तिगत सेयर धितो कर्जामा लगाइएको १५ करोडको क्याप हटाएर २५ करोड पुर्याइएको छ। 
(धितो राखिने सेयरको पछिल्लो १८० दिनको औसत मूल्य वा पछिल्लो बजार मूल्यमध्ये जुन थोरै हुन्छ, त्यहीं रकमको ७० प्रतिशत बैंकहरूले सेयर धितोमा कर्जा दिँदै आएका छन् । यस्तो कर्जा जेठ मसान्तसम्म १ खर्ब २८ अर्ब प्रवाह भएको छ ।)

 

२, मौद्रिक नीति मार्फत घर बनाउन वा खरिद गर्न बैंकहरूबाट रु ३ करोडसम्म ऋण पाईने व्यवस्था गरिएको छ। यस अघिको मौद्रिक नीतिले २ करोड सम्मको सिमा निश्चित गरेको थियो। पहिलो पटक घर किन्नेलाई मूल्यांकनको ८० प्रतिशतसम्म कर्जा दिइने भएको छ । यसअघि यस्तो सीमा ६० प्रतिशत थियो।  

 

३, विस्तृत मुद्रा प्रदायकको वृद्धिदर १३ प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको छ ।

 

४,भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई हाल प्रतिपटक अमेरिकी डलर २,५०० सम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था रहेकोमा यस्तो सटही सुविधा वृद्धि गरी अमेरिकी डलर ३,००० कायम गरिनेछ ।

 

५, ब्याजदर करिडोरको माथिल्लो सीमाका रुपमा रहेको बैंकदरलाई ६ प्रतिशत र नीतिगत दरलाई साढे चार प्रतिशत कायम गरेको छ।  यसअघि बैंकदर साढे ६ प्रतिशत र नीतिगत दर पाँच प्रतिशत थियो।

 

६, बैंक तथा वित्तीय संस्थालाई वातावरणमैत्री क्षेत्रमा कर्जा तथा लगानी अभिवृद्धि गर्न प्रोत्साहितगर्ने उद्देश्यले Nepal Green Finance Taxonomy  जारी गरिएको छ ।

 

७, चेक अनादरको कारण कालो सूचीमा पर्ने विद्यमान व्यवस्थामा नीतिगत सहजीकरण गरिनेछ ।

 

८, बैंक तथा वित्तीय संस्थाहरूको पुँजी वृद्धिमा सहजीकरण गर्ने उद्देश्यले यस बैंकको स्वीकृतिमा आवश्यकतानुसार पुँजी बढाउन सक्ने व्यवस्था गरिनेछ ।

 

९, नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार वित्तीय पहुँच विस्तार गर्न 'नियो बैंक’ स्थापनका लागि कानुनी र प्रक्रियागत व्यवस्था अघि बढाइनेछ ।

 

१०, ग्रामीण क्षेत्रमा ऋणीहरूसँग निरन्तर सम्वादमा रहने उद्देश्यले “ऋणीसँग नेपाल राष्ट्र बैंक” कार्यक्रम सञ्चालन गरिनेछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार