सल्लेरीबाट सुर्केसम्म यातायात सेवा सञ्चालन: पर्यटन व्यवसायी उत्साहित
२०८१ पुष १६ गते मंगलवार
- खरिखोलाबाट थामडाँडासम्मको १२.३ किलोमिटर सडक भने रु छ करोड १४ लाख लागतमा पालिकाको आफ्नै स्रोतबाट निर्माण गरिएको थियो ।
सोलुखुम्बु, १६ पुसः सगरमाथा क्षेत्रको पर्यटनको केन्द्र मानिने लुक्ला नजिकैको सुर्केगाउँसम्म यातायात सेवा विस्तार भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
खुम्बु पासाङल्हामु गाउँपालिकाको विशेष लगानीमा सुर्केसम्म सडक विस्तार भएसँगै सल्लेरीबाट सुर्केसम्म यातायात सेवासञ्चालनमा आएको छ । यसले सगरमाथा क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ ।
खुम्बु पासाङल्हामु –१ खरिखोलाबाट वडा नं २ सुर्केसम्म रु १६ करोडको लागतमा करिब २५ किलोमिटर सडक निर्माण गरिएको हो । यो परियोजना गाउँपालिकाको मुख्य लगानीमा दुई वर्षअघि सुरु भएको थियो । परियोजनाका लागि पालिकाले स्थानीय जलविद्युत् आयोजना—सिल्क पावर र दूधकोशी छैटौसँग साझेदारी गरेको छ ।
थामडाँडाबाट सुर्केसम्मको १२.५ किलोमिटर सडक ठेक्का प्रणालीमार्फत रु १० करोड ५२ लाखमा निर्माण सम्पन्न भएको छ । गाउँपालिकाका लेखा शाखा प्रमुख चेतनाथ कट्टेलका अनुसार ५० प्रतिशत लगानी गाउँपालिकाको छभने बाँकी ५० प्रतिशत जलविद्युत् आयोजनाबाट जुटाइएको छ । खरिखोलाबाट थामडाँडासम्मको १२.३ किलोमिटर सडक भने रु छ करोड १४ लाख लागतमा पालिकाको आफ्नै स्रोतबाट निर्माण गरिएको थियो ।
दूधकोशी नदीमा रहेको मितेरीपुल बाढीका कारण क्षतिग्रस्त भएपछि अस्थायी रूपमा ह्युमपाइप राखेर सडक सञ्जाललाई निरन्तरता दिइएको छ । दूधकोशीपारिको खरिखोला र पैयाँखोला गरी दुई ठाउँमा ह्युमपाइप प्रयोग गरिएको वडा नं २ का अध्यक्ष आङफुर्वा शेर्पाले बताउनुभयो । यसले मालवाहक र अन्य सवारीलाई सहजै सुर्केसम्म पुर्याउन सम्भव बनाएको छ । स्थानीय पर्यटन व्यवसायीले सडक निर्माणप्रति उत्साह व्यक्त गर्दै यो कदमले क्षेत्रीय पर्यटनलाई नयाँ उचाइमा पुर्याउने बताएका छन् । मौसमका कारण उडान रद्द हुँदा यात्री अलपत्र पर्ने समस्या अब समाप्त हुने व्यवसायीको धारणा छ ।
स्थानीयवासीले सडक विस्तारले जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् । यसले उनीहरूको दैनिकी सहज बनाउनुका साथै क्षेत्रीय विकासमा गति दिनेछ । लुक्ला नजिकैको सुर्केसम्म सडक सञ्जाल विस्तार भएको खुम्बु क्षेत्रका लागि कोशेढुङ्गा सावित हुँदैछ । सगरमाथा क्षेत्रको पर्यटकीय महत्वलाई बढाउँदै यो परियोजनाले स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा दीर्घकालीन योगदान दिने अपेक्षा गरिएको छ । पर्यटन व्यवसायी, स्थानीयवासी र सरोकारवाला सबैले यो विकासलाई स्वागत गरेका छन् ।
सुर्केसम्म सडक पुगेपछि सल्लेरीबाट ६४ किलोमिटरको दूरीलाई सहज यात्राका माध्यमबाट पार गर्न सकिने भएको छ । लुक्ला विमानस्थलबाट करिब डेढ घण्टाको पैदल दूरीमा पर्ने फाक्दिङसम्म सडकको पहुँचले भरपर्दो विकल्प सृजना गरेको पर्यटन व्यवसायी अमृत मगरले बताए ।
यसअघि मौसम प्रतिकूल हुँदा विदेशी पर्यटक हप्तौँसम्म रामेछापको मन्थलीमा कुर्न बाध्य हुने अवस्था थियो । अब सडक मार्गको विकल्पले मौसमको प्रतिकूलताबाट प्रभावित हुने समस्यालाई धेरै हदसम्म समाधान गर्ने देखिन्छ । पर्यटन व्यवसायी निराजन शर्माका अनुसार आधा पर्यटक अब सिधै सडक मार्गबाट खुम्बु पुग्ने सम्भावना छ ।
पर्यटनमा सम्भावना र आर्थिक प्रभाव
सडक विस्तारसँगै खुम्बु क्षेत्रमा पर्यटन व्यवसायमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ । यसले होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, गाइड र पोर्टरको रोजगारीमा पाि सकारात्मक प्रभाव पार्नेछ ।
खुम्बु पासाङल्हामु गाउँपालिकाका अनुसार यो सडकले स्थानीय उत्पादनको ढुवानीलाई पनि सहज बनाउनेछ । यस क्षेत्रका आलु, गहुँ, जौँजस्ता उत्पादन अब बजारमा सहजै पुग्ने छन् । साथै निर्माण सामग्री र खाद्यान्न आपूर्तिमा पनि सुधार आउनेछ । सडक निर्माणको यो महत्त्वपूर्ण परियोजना यही पुस २० उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसले खुम्बु क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा थप प्रचार गर्ने विश्वास गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’